बिर्तामोड, माघ ६ । आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा लक्षित गर्दै गृह मन्त्रालयले सातवटै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न गरेको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार सबै प्रदेशमा भएका सुरक्षा गोष्ठीबाट मुख्यगरी तीन विषयहरू प्रमुख बनेर आएका थिए ।

जसमा स्रोत–साधन, जनशक्ति र साइबर चुनौती । अहिले यी तीनवटै मुख्य विषयको सम्बोधन भइसकेको काफ्ले बताउँछन् । ‘सबै प्रदेशबाट मुख्यगरी स्रोत–साधन, जनशक्ति र साइबर विषयहरूलाई चुनौतीको रूपमा लिइएको थियो । अहिले ती सबै विषय सम्बोधन भएको अवस्था छ,’ काफ्लेले भने ।
गोष्ठीमा उठाइएको स्रोत–साधनका विषय अहिले सम्बोधन भइरहेका छन् । स्रोत–साधनतर्फ सवारीको हकमा नियमित बजेटतर्फबाट प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागले ३७७ वटा सवारी साधन खरिद गरेका छन् ।
यसैबीच, कोशी प्रदेशमा नयाँ र पुराना दलबीच द्वन्द्व हुनसक्ने चुनौती आँकलन गरिएको छ । धरानका मेयर हर्क साम्पाङले श्रम संस्कृति पार्टी खोलेका छन् । उनी मेयरबाट राजीनामा दिएर चुनाव उठ्दैछन् । पूर्वी क्षेत्रमा साम्पाङको पार्टीको प्रभाव राम्रो मानिन्छ ।
अर्को नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव पनि क्रमिक रूपमा बढ्दै गएको देखिन्छ । यही सन्दर्भमा काठमाडौँ महानरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) निर्वाचनमा प्रतिस्पर्धा गर्ने उद्देश्यले आइतबार मात्रै राजीनामा दिएर रास्वपाको कार्यालय घण्टीघर प्रवेश गरेका छन् ।
उनी झापा–५ बाट उम्मेदवारी दिने तयारीमा छन् । यही क्षेत्रबाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उम्मेदवारी दिँदैछन् । यी हेभिवेटका कारण र नयाँ–पुरानाबीच मुठभेड हुने चिन्ता कोशी प्रदेशमा छ ।
शनिबार मात्रै झापा पुगेर एमालेको नेसनल भोलिन्टयर फोर्सले झापा जिल्ला कमिटी घोषणा गरेको छ । यसको मुख्य उद्देश्य भनेकै आगामी चुनावमा प्रभाव जमाउनु रहेको सुरक्षा अधिकारीहरूको विश्लेषण छ ।
एक सुरक्षा अधिकारी भन्छन्, ‘बालेन शाहले समेत झापामा उम्मेदवारी दिएकोले अवस्था सोचेभन्दा पनि बढी जटिल बन्न सक्छ । नयाँ–पुरानबीच द्वन्द्वको डर छ ।’
कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी पुस १६ गते विराटनगरमा सम्पन्न भएको थियो । त्यतिबेला बालेन शाह झापाबाट चुनाव उठ्ने खासै चर्चा र तयारी थिएन । जसका कारण त्यतिबेला सोचेभन्दा अहिलेको सुरक्षा चुनौती फरक बनेको ती अधिकारी सुनाउँछन् ।


