बिर्तामोड, माघ ६ । झापा उद्योग वाणिज्य संघ भद्रपुरको आयोजनामा हुने झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव (झापा एक्स्पो)–२०८२ को तयारी पूरा भएको छ ।

’समृद्धिको आधार, आर्थिक विकास कृषि पर्यटन उद्योग र व्यापार’ नाराका साथ महोत्सव भोलि माघ ७ गतेदेखि २१ गतेसम्म मेची रंगशाला भद्रपुरमा हुनेछ । आयोजकले आज पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी पूरा भएको जानकारी दिएको हो ।
भद्रपुरमा एक दशकपछि संघले महोत्सव आयोजना गरेको हो । रंगशाला परिसरमा १३० स्टल तयार गरिएको छ । जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिसकिएको छ । मुख्य मञ्च व्यवस्थापन भइसकेको छ भने मनोरञ्जनात्मक खेलका सामग्रीहरु जडानका कामहरु पूरा भएको छ ।
झापा जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी र पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने दीर्घकालीन र आन्तरिक बजार सवलीकरणका लागि व्यावसायिक उत्थान तथा निकासीयोग्य वस्तुमा जोड दिने मध्यकालीन लक्ष्यसहित महोत्सव आयोजना गरिएको महोत्सव संयोजक तथा संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले बताए ।
महोत्सवलाई अपनत्व ग्रहण गर्दै भद्रपुर नगरपालिकाले संरक्षकत्व ग्रहण गरेको छ भने मुख्य प्रायोजकको रुपमा ओम साई पाथिभरा हस्पिटल रहेको छ । महोत्सवस्थल उपलब्ध गराएर झापाको औद्योगिक व्यावसायिक प्रवर्द्धनमा झापा जिल्ला खेलकुद विकास समितिले सहयोग पुर्याएको अध्यक्ष प्रशान्त भण्डारीले बताए ।
महोत्सवमा कम्तीमा १० करोड रुपैयाँबराबरको कारोबार तथा एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ ।
नौवटा उपसमिति गठन
महोत्सव सम्पन्न गर्न विभिन्न नौवटा उपसमिति गठन गरिएको छ । आदित्य पराजुली संयोजक रहेको आर्थिक संकलन तथा व्यवस्थापन समिति, खड्गबहादुर लिम्बू संयोजक रहेको मञ्च व्यवस्थापन समिति, पवनकुमार श्रेष्ठको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, माधव विद्रोहीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।
त्यस्तै, रोहित काफ्लेको संयोजकत्वमा उपहार तथा प्रकाशन समिति, अम्बिका पोखरेलको संयोजकत्वमा सुरक्षा तथा स्वयमसेवक समिति, अनिता कार्कीको संयोजकत्वमा स्वागत तथा सत्कार समिति, संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार घिमिरेको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ ।
महोत्सवमा सेल्फीजोन, मनोरञ्जनात्मक खेल तमासा, स्थानीय, राष्ट्रियस्तरको सांगीतिक र हास्यव्यंग्य प्रस्तुति, स्थानीय गीत तथा नृत्य र सांस्कृतिक कार्यक्रम, बाल उद्यान, विभिन्न जातजातिको सांस्कृतिक, परम्परागत प्रदर्शनी तथा झाँकी प्रदर्शन हुनेछ ।


