
बिर्तामोड, माघ ७ । झापाकै पहिलो बिर्तामोडमा रहेको श्री गायत्री माता मन्दिरको प्रथम वार्षिकोत्सवमा दातालाई सम्मानसहित विशेष कार्यक्रम गरिने भएको छ ।
मन्दिर व्यवस्थापन समितिले आज मन्दिरपरिसरमा पत्रकार सम्मेलनको आयोजना गरेर माघ ९ गते वार्षिकोत्सव कार्यक्रम गरिने जानकारी दिएको छ । गायत्री माता मन्दिर गत वर्ष श्रीपञ्चमीका दिन स्थापना भएको थियो ।
वार्षिकोत्सवको अवसरमा मन्दिर स्थापना तथा निर्माणमा सहयोग पुर्याउने सम्पूर्ण दाताहरुलाई सम्मान गरिने मन्दिरका संरक्षक रोनक वंशलले जानकारी दिए । त्यस्तै, विशेष पूजा अनुष्ठान, धार्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने उनले बताए ।
वार्षिकोत्सवको अवसर पारेर भजन गायक राजु अधिकारी, रोशन अधिकारी र गुञ्जन दाहालसहितको टोलीले संगीतमय भजन प्रस्तुत गर्ने सल्लाहकार समितिका सदस्य प्रशान्त भण्डारीले बताए ।
मन्दिर व्यवस्थापन समितिले गायत्री माताप्रतिको आस्था र जनविश्वासलाई अझ मजबुत बनाउँदै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने लक्ष्य लिएको छ ।
पत्रकार सम्मेलनमा सल्लाहकार मेघराज बास्तोला, संयोजक सुजित अग्रवाल, मारवाडी सेवा समितिका अध्यक्ष विजय गोयल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन् ।


