
बिर्तामोड, माघ १० । आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रभाव पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय झापाले व्यक्तिगत रुपमा दर्ता भएका हतियार बुझाउन आग्रह गरे पनि कसैले मानेका छैनन् ।
कार्यालयका अनुसार झापामा एक हजार २३७ वटा हतियार दर्ता छन् । आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गरी कार्यालयले हतियार बुझाउन दोस्रोपटक सूचना जारी गरेको छ ।
दोस्रो सूचना जारी गर्दा पनि अहिलेसम्म कसैले पनि बुझाएका छैनन् । जिल्ला प्रशासन कार्यालयले हतियार बुझाउन पहिलोपटक पुस २९ गते सूचना जारी गरेको थियो ।
त्यसपछि माघ ८ गते दोस्रोपटक सूचना जारी गरिएको छ । माघ २० गतेभित्र अनिवार्य रूपमा हतियार बुझाइसक्न सूचित गरिए पनि अहिलेसम्म कसैले पनि नबुझाएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
त्यस्तै, जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको १५ थान हतियार अझै गायब रहेको उनले जानकारी दिए ।


