२०८२ माघ १२ सोमबार
Jhapa Today
Adv top

महँगियो खानेतेल


बिर्तामोड, माघ १२ । नेपाली बजारमा पछिल्लो एक सातादेखि खानेतेलको मूल्यमा अप्रत्याशित वृद्धि भएको छ । तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले बढेको हो ।

बजारमा अहिले भटमास र सूर्यमुखी (सनफ्लावर) तेलको खुद्रा मूल्य प्रतिलिटर २९० देखि ३०० रुपैयाँसम्म पुगेको छ । त्यसैगरी, तोरीको तेल प्रतिलिटर ३८० देखि ४०० रुपैयाँमा बिक्री भइरहेको छ ।

व्यवसायीहरूका अनुसार पछिल्लो एक सातामा मात्रै तेलमा लिटरको ४० देखि ५० रुपैयाँसम्मको वृद्धि देखिएको हो । एक्कासि तेलको भाउ अत्यधिक बढ्दा घरायसी बजटेमै समस्या परेको उपभोक्ताले गुनासो गरेका छन् ।

उद्योगीहरूले भने अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको भाउ बढेकाले मूल्य बढाउनुपरेको दाबी गरेका छन् । एक उद्योगीका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा खानेतेलको कच्चापदार्थ (क्रुड) आपूर्तिमा आएको संकुचन (टाइट) ले गर्दा मूल्य बढ्न पुगेको हो ।

उनका अनुसार विशेषगरी सूर्यमुखी (सनफ्लावर) र भटमास (सोयाबिन) तेलको मूल्यमा अहिले बढी चाप परेको छ । तोरीको तेलको सन्दर्भमा भने नेपाल र भारतको कर नीतिमा रहेको ठुलो अन्तरले समस्या पारेको उनले बताए ।

Adv footer