बिर्तामोड, माघ १३ । टेलिकमलगायतको तामाको तार चोर्दै आएका झापा बिर्तामोडका एक दम्पती मेचीनगरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा झापा बिर्तामोड-१ का २७ वर्षीय मकबुल अन्सारी र उनकी श्रीमती २३ वर्षीया सबिना खातुन रहेका छन् ।
उनीहरुलाई झापाको मेचीनगर-१० धुलाबारीबाट नेपाल टेलिकमको तारसहित पक्राउ गरिएको हो । सो तार उनीहरुले झापाका विभिन्न क्षेत्रबाट चोरी गरेको पाइएको छ ।
हिजो दिउँसो २ बजे मेचीनगर-१० निन्दा पुलबाट पक्राउ परेका उनीहरुलाई गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीले पक्राउ गरेको हो ।
सो तार अन्दाजी एक लाख मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । नेपाल टेलिकमको २ बोरा तार, एउटा तार कटर र एउटा ग्लेन्डर मेसिन फेला परेको थियो ।



