
बिर्तामोड, माघ १३ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको सही सदुपयोग गर्न सबैमा आग्रह गरेको छ। बोर्डले आज सार्वजनिक अपिल जारी गर्दै स्वास्थ्य बीमालाई जिम्मेवारपूर्वक सही सदुपयोग गर्न सेवाग्राही र अस्पताललाई आग्रह गरेको हो।
बीमा अन्तर्गत अनावश्यक परीक्षणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई दबाब नदिन बोर्डको आग्रह छ। साथै सेवा प्रदायक संस्थाहरुले पनि औचित्यका आधारमा चेकजाँच, ल्याब परीक्षण तथा उपचार गर्न भनिएको छ। साथै बोर्डले निर्माण गरेका निर्देशिका, कार्यविधि तथा परिपत्रको कार्यान्वयन गरी स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न पनि अपिलमा भनिएको छ।
अपिलमा भनिएको छ, ‘स्वास्थ्य बीमाको सही सदुपयोग गरौँ भन्ने सन्देश सहित समस्त सेवाग्राहीहरुले स्वास्थ्य सेवाको जिम्मेवार प्रयोग गर्नु हुन, बीमा सेवाको दुरुपयोग नगर्नु हुन र अनावश्यक परीक्षणहरूका लागि चिकित्सक स्वास्थ्यकर्मीहरूलाई दबाब नदिनु हुन अनुरोध गर्दछौं।’
हाल स्वास्थ्य बीमा सेवा लिनुपर्दा देखिएका असहजता वा अस्थायी रुपमा सेवा अवरुद्ध भएका अस्पतालहरुमा पुनः सञ्चालनमा ल्याउन निरन्तर पहल गरिरहेको बोर्डले जनाएको छ।
स्वास्थ्य बीमा ऐन २०७४ स्वास्थ्य बीमा नियमावली २०७५ तथा अन्य नीतिगत व्यवस्थाहरूले बीमालाई सामाजिक स्वास्थ्य सुरक्षा प्रणालीको मेरुदण्डका रुपमा परिकल्पना गरेको बताउँदै दैनिक करिब ५० हजार नागरिकहरुले स्वास्थ्य सेवा प्राप्त गरिरहेको बोर्डले जनाएको छ।
स्वास्थ्य बीमाले दैनिक औसत ८ करोड रुपैयाँ बराबरको आम नागरिकको गोजीबाट हुने खर्च जोगिँदै आएको बीमा बोर्डको दाबी छ। स्वास्थ्य बीमालाई थप सशक्त, व्यवस्थित तथा नागरिकमैत्री बनाउन प्रतिवद्ध रहेको बोर्डको भनाई छ।



