२०८२ माघ १४ बुधबार
Jhapa Today
Adv top

दुर्घटनामा घाइते बिर्तामोडकी भण्डारीको उपचारका क्रममा मृत्यु


बिर्तामोड, माघ १४ । मेचीनगरमा चार दिनअघि भएको सडक दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा बिर्तामोड–७ की ५४ वर्षीया कल्पना भण्डारी रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा कल्पनाका श्रीमान भोजराज भण्डारी सामान्य घाइते भएका छन् ।

माघ ११ गते दिउँसो मेचीनगर–७ नमुना टोलस्थित भित्री सडकखण्डमा काकँरभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे. ९ प ६३९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१७ प ४२६५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा ६३९४ नम्बरको मोटरसाइकलका चालक भण्डारी दम्पती घाइते भएका थिए । कल्पनाको टाउको र शरीरमा चोट लागेर गम्भीर अवस्थामा उपचार भइरहेको थियो ।

उपचारको क्रममा कल्पनाको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल चालक मेचीनगर-६ बस्ने ४३ वर्षीय युवराज मुखिया र मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ ।

Adv footer