बिर्तामोड, माघ १६ । बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएपछि बजार क्षेत्रमा गरगहना चोरी हुन थालेको छ । झापाको बिर्तामोड र अर्जुनधाराबाट लाखौँको गरगहना चोरी भएको हो ।
हिजो राति बिर्तामोड-१ पञ्चकन्या प्लटिङस्थित पुनमदेवी शाहको २ तले घरमा कोही नभएको अवस्थामा सुत्ने कोठाको ताल्चा फुटाई दराजभित्र रहेका नगद र गरगहना चोरी भएको हो ।
विभिन्न सुनको गरगहना ६ तोला, चाँदीको गरगहना १२ तोला र नगद २० हजार गरी अन्दाजी १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको जनाइएको छ ।
त्यस्तै, हिजो राति अर्जुनधारा-९ कालिस्थान सिरान बस्ने ५३ वर्षीय नारद पोखरेलको घरमा दुईजना अपरिचित व्यक्ति घरभित्र प्रवेश गरी धनमाल चोरी गरेका छन् ।
दराज खोली सुनको गरगहना २ तोला, चाँदीको गरगहना ३ तोला, नगद ५५ हजार र भिभो कम्पनीको मोबाइल गरी जम्मा ८ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरी लगेको पीडितले बताएका छन् ।
राति ९ बजे अस्थायी प्रहरी बिट सालबारीमा जानकारी भएपछि प्रहरी सहायक निरीक्षक प्रभु रायको कमाण्डमा र प्रहरी चौकी शनिश्चरेबाट प्रहरी वरिष्ठ नायव निरीक्षक नुमराज केसीको कमाण्डमा टोली खटिएर थप बुझ्ने कार्य भइरहेको जनाइएको छ ।



