२०८२ माघ १७ शनिबार
Jhapa Today
Adv top

बढ्यो झापा गोल्डकपको पुरस्कार राशि, मुख्य प्रायोजक एक्स्ट्रिम


बिर्तामोड, माघ १७ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करणमा पुरस्कार राशि बढाइएको छ । पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुन लागेको प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ पाउने भएको छ ।

छैटौँ संस्करणको विजेताले १३ लाख रुपैयाँ पाएको गोल्डकपका अध्यक्ष केदार गिरीले बताए । यो संस्करणमा उपविजेताले सात लाख ५० हजार रुपैयाँ पाउनेछ । अघिल्लो संस्करणको उपविजेताले छ लाख ५१ हजार रुपैयाँ पाएको थियो ।

त्यस्तै, यो वर्ष विधागत पुरस्कारमा पनि वृद्धि गरिएको छ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगदद २५ हजार रुपैयाँ पाउनेछ । अघिल्लो संस्करणमा ११ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यामाहाको एकथान मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, प्रशिक्षक र उच्च गोलकर्ताले नगद ३५ लाख रुपैयाँ पाउनेछ । अघिल्लो संस्करणमा २५ हजार रुपैयाँ प्रदान गरिएको अध्यक्ष गिरीले बताए ।

यही माघ २४ गतेदेखि फागुन ४ गतेसम्म डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रयोजक एग्रो थाई फुड्स प्रालिको उत्पादन एक्स्ट्रिम इनर्जी ड्रिंग्स रहेको छ ।

प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी, लालीगुराँस एसोसिएसन नेपाल पोखरा, रोयल थिम्पु कलेज भुटान, सिंग्लिङ स्पोर्टिङ क्लब भारत र एन पेनाङ एफसी मलेसियाको सहभागिता रहने वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेलले बताए ।

यसैबीच, झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित यो वर्ष पनि सम्मान गरिनेछ । खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने अध्यक्ष गिरीले बताए ।

त्यस्तै, हिम इलेक्ट्रोनिक प्रालिको तर्फबाट बिर्तामोडस्थित महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई एकथान ३२ इन्चको एलइडी टिभी उपलब्ध गराउने आयोजकले जनाएको छ ।

Adv footer