
बिर्तामोड, माघ १७ । मेचीनगरस्थित मेची पुलको ब्यारिकेटमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर-६ का ४० वर्षीय चेतन कटवाल रहेका छन् । हिजो राति १० बजे मेचीनगर ६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर-६ बस्ने ३५ वर्षीय काशीनाथ पौडेल र पछाडि बसेका सोही ठाउँ बस्ने ४० वर्षीय कटवाल घाइते भएका थिए ।
शरीरमा चोट लागेर गम्भीर घाइते भएका कटवाललाई आम्दा अस्पताल धुलाबारी पठाएकोमा राति डाक्टरले मृत घोषणा गरेका छन् । मृतकको शव सोही अस्पतालमा रहेको छ ।
घाइते मोटरसाइकल चालक पौडेललाई थप उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएको प्रहरीले जनाएको छ ।



