
बिर्तामोड, माघ १८ । आदिवासी सन्थाल समुदायले आज परम्परागत ‘सोहराय’ पर्व मनाउँदै छन् । झापासहित पूर्वी नेपालमा बसोबास गर्दै आएका उनीहरुको यो प्रमुख चाड हो ।
झापाका ११ वटा पालिकाहरुले आज सोहराय पर्वको अवसरमा स्थानीय विदा दिएका छन् । गौरीगञ्ज, गौरादह, शिवसताक्षी, झापा, बाह्रदशी, हल्दिबारी, कचनकवल, बिर्तामोड, भद्रपुर, कनकाई र कमलले विदा दिएका हुन् ।
सन्थाल जातिको बसोबास नरहेको मेचीनगर, अर्जुनधारा, बुद्धशान्ति र दमकले भने विदा दिएका छैनन् । सन्थालहरुको प्रमुख चाड सोहराय एकसातासम्म मनाइने गरिएको छ ।
सोहरायको पहिलो दिनलाई ‘उम’, दोस्रो दिनलाई ‘दाका’, तेस्रो दिनलाई ‘खुन्टौ’, चौथो दिनलाई ‘जाली’, पाँचौँ दिनलाई ‘हाकुकाद्कम’ र छैटौँ दिनलाई ‘साकरात’ भनिने गरेको छ ।
मिठोमसिनो खाने र एकअर्काको घरमा गएर रमाइलो गरेर सन्थालहरुले यो पर्व मनाउँदै आएका छन् । यो पर्वमा चेलीबेटी र पाहुनाहरुलाई निमन्त्रणा गरिएको हुन्छ । उनीहरुले ल्याएका कोसेली बितेका पूर्वजहरुलाई चढाएर नाचगान पनि हुने गरेको छ ।



