बिर्तामोड, माघ १८ । मन्त्रिपरिषद्को बैठकले प्रहरीको राशन स्केल वृद्धि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार राशन रकममा १० प्रतिशत वृद्धि भएको हो ।

साढे ४ वर्षपछि बढेको स्केल फागुन १ देखि लागु हुनेछ । २०७८ साउनयता राशन स्केल वृद्धि भएको थिएन । अहिलेको निर्णयसँगै ७९ हजार ५४१ प्रहरी कर्मचारी लाभान्वित हुने भएका छन् । मन्त्रिपरिषद्ले फागुनबाट लागु हुनेगरी १०.२७ प्रतिशतले राशन रकममा वृद्धि गरेको प्रहरी प्रवक्ता (डिआइजी) अविनारायण काफ्लेले बताए ।
वृद्धि भएको राशन स्केलअनुसार प्रहरी कर्मचारीले अब १९ आइटम पाउने छन् । यसअघि खाइपाई आएको १६ आइटमलाई बढाएर १९ आइटम कायम गरिएको डिआइजी काफ्लेले बताए ।
थप भएको आइटममा कुखुराको मासु, अण्डा र हाई इनर्जेटिक बिस्कुट छन् । सुख्खा तरकारी ५० ग्रामबाट बढेर ५५ ग्राम हुने भएको छ । चामल दैनिक ६९० ग्रामबाट बढाएर ७२० ग्राम दिने निर्णय गरिएको छ ।
जिल्लागत रूपमा राशनको रकम फरकफरक हुन्छ । हिमाली जिल्लामा राशन रकम धेरै र तराईको जिल्लामा कम हुन्छ । सबैभन्दा कम दररेट भएको झापामा अहिले प्रहरी कर्मचारीले राशनबापत दैनिक १८० रुपैयाँ ५५ पैसा पाउँदै आएका थिए । मन्त्रिपरिषद्को निर्णयअनुसार फागुनदेखि उनीहरूले १९९ रुपैयाँ १० पैसा पाउनेछन् ।
काठमाडौँ उपत्यकामा राशन बापत पाउने २०१ रुपैयाँ २५ पैसा बढेर २२१ रुपैयाँ ९२ पैसा कायम गरिएको छ । काठमाडौँमा प्रत्येक दिन २० रुपैयाँको दरले राशन रकम वृद्धि भएको छ । हुम्लामा प्रतिदिन ८९ रुपैयाँ बढेको छ । सुख्खा तरकारी ५० ग्रामबाट बढेर ५५ ग्राम हुने भएको छ । चामल दैनिक ६९० ग्रामबाट बढाएर ७२० ग्राम उपलब्ध गराउने निर्णय गरिएको छ । जिल्लागत दररेट अनुसार राशन रकम थपघट हुने डिआइजी काफ्लेले बताए ।
जेनजी प्रदर्शनपछि कमजोर भएको प्रहरीको मनोबल बढाउने कार्यक्रम ल्याउनुपर्ने आवाज उठेपछि प्रहरी प्रधान कार्यालयले २०८२ मंसिरमा राशन स्केल बढाउने प्रस्ताव अघि बढाएको थियो ।
प्रहरी प्रधान कार्यालयले प्रस्ताव गरेको डब्लूएचओले निर्दिष्ट गरेको न्यूनतम मापदण्ड अनुरूप रकम वृद्धि गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै १६ आइटम क्यालोरीमा थप गरेर १९ आइटम पुगेको हो । स्केल वृद्धि भएसँगै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सकलदर्जाले पाउने राशन रकम बराबर भएको छ ।
राशन रकम वृद्धिको निर्णय न्याय, समानता तथा प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले महत्त्वपूर्ण उपलब्धि भएको आइजिपी दानबहादुर कार्कीले बताए । उनले भने, ‘संस्थागत न्यायलाई मूल आधार मानी सेवामा समर्पित प्रत्येक प्रहरी कर्मचारीको हक हित सुनिश्चित गर्न हामी निरन्तर प्रतिबद्ध रहने छौँ ।’
नेपाली सेनाका सकलदर्जाले अहिले २४ आइटम राशन पाउँदै आएका छन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने दररेट समितिले लागत अनुमान गर्ने कानुनी व्यवस्था छ । ढुवानी खर्चको आधारमा जिल्ला अनुसार दररेट फरक हुन्छ ।
राशन बापत प्रहरी कर्मचारीले अहिले नगद नै प्राप्त गर्छन् । सशस्त्र प्रहरीले भने सेन्टर मेस सञ्चालन गर्दै आएको छ । सेन्टर मेसमा हप्तामा ४ छाक मासु, अण्डा करी, सलाद र साग उपलब्ध गराइन्छ । काठमाडौँ उपत्यकामा सशस्त्रका जवानले दैनिक २०३ रुपैयाँ बराबरको राशन पाउँछन् । जिल्ला दररेट अनुसार मुगुमा ३ सय भन्दा धेरै राशन रकम दिइन्छ । तर, महँगी अनुसार मुगुमा त्यतिले नपुग्ने सशस्त्रका अधिकारीहरू बताउँछन् ।



