
-केशव भट्टराई
बिर्तामोड, माघ १८ । परिश्रमी पाइलाहरूले तय गरेको गन्तव्यलाई चुम्ने ध्येय राखेकी विमला भट्टराईको जीवनयात्रा लक्ष्य, संघर्ष र रूपान्तरणको कथा हो । प्रारम्भिक दिनहरूमा उनको सपना प्रहरी सेवामा समर्पित हुने थियो । प्रवेशिका परीक्षा दिएपछि लिखित परीक्षा समेत उत्तीर्ण गरेकी उनको यात्राले इलामबाट झापा बसाइँ सरेसँगै नयाँ मोड लियो ।
अध्ययनसँगै फुटबल, भलिबल र एथलेटिक्सजस्ता खेलकुद विधामा सक्रिय रहेकी उनले प्रहरी सेवाको सपनालाई क्रमशः बिट मार्दै कृषि उद्यम र सामाजिक सेवाको मार्ग रोजिन् । २०५३ साल चैत ६ गते ताप्लेजुङमा माता भीमकला र पिता ओमनाथ भट्टराईकी दोस्रो सन्ततिका रूपमा जन्मिएकी विमला इलामको जितपुरमा हुर्कंदै, पढ्दै जीवनका प्रारम्भिक मूल्यहरू आत्मसात् गरिन् । हाल उनी शिक्षाशास्त्रमा स्नातक अध्ययनसँगै व्यावसायिक र सामाजिक जीवनमा सक्रिय छिन् ।
कुनै समय वैदेशिक रोजगारीको सम्भावनालाई पनि उनले गम्भीरतापूर्वक विचार गरिन् । त्यसका लागि पासपोर्टसमेत बनाइन् । तर, आफ्नै माटोसँग जोडिएर सिर्जनशील उद्यममार्फत स्वावलम्बी बन्ने दृढ संकल्पले उनलाई नेपालमै रोक्यो । वैदेशिक यात्रालाई थाँती राख्दै उनले स्वदेशमै संघर्ष र सम्भावनाको बाटो रोजिन् ।
आफ्ना बाबुआमाबाट सिकेको सुसंस्कार, लगनशीलता र परोपकारी भावलाई जीवनको मूल आधार बनाउँदै उनी निरन्तर अघि बढिरहेकी छन् । विगत नौ वर्षयता सिर्जनशील कृषि फर्मको सञ्चालन गर्दै उनले कृषि क्षेत्रमा लगानी मात्र होइन, कृषि व्यवसायको थोक बिक्रेताका रूपमा समेत सक्रिय भूमिका निर्वाह गरिरहेकी छन् । कृषि क्षेत्रमा प्राविधिक शिक्षा आर्जन गरिसकेकी उनको पेशागत जीवनको अर्को सशक्त पाटो बीमा क्षेत्र हो ।
नेसनल लाइफ इन्स्युरेन्समा बिजनेस म्यानेजरका रूपमा कार्यरत विमला भट्टराई चेम्बर अफ कमर्स अर्जुनधाराकी कोषाध्यक्ष, एबिसी नेपालकी सक्रिय सदस्य, नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय उपभोक्ता मञ्च झापा तथा इलाम–झापा मैत्री समाजजस्ता सामाजिक संस्थाहरूमा समेत स्थापित नाम बनिसकेकी छन् ।
सानै उमेरदेखि परिश्रमी पाइलामा विश्वास राख्ने विमलाको जेसिज जीवनयात्रा सन् २०१७ बाट सुरु भयो । नयाँ वर्ष, नवीन योजना र अनुकरणीय जिम्मेवारीको पर्यायझैँ बनेर उनले हरेक वर्ष फरक–फरक भूमिकामा आफूलाई प्रमाणित गर्दै आइन् । सन् २०१८ मा अर्जुनधारा जेसिज ‘अफ द इयर’ घोषित हुँदा, सन् २०१९ मा उपाध्यक्ष, २०२० मा सचिव, २०२१ मा तालिम आयुक्त, २०२२ मा कार्यकारी उपाध्यक्ष, २०२३ मा प्रकरण निर्देशक, २०२४ मा कोषाध्यक्ष र सन् २०२५ मा महासचिवको जिम्मेवारी उनले कुशलतापूर्वक निर्वाह गरिसकेकी छन् ।
अध्ययन, अनुशासन र सकारात्मक दृष्टिकोणले मात्र सफलताको शिखर चुम्न सकिन्छ भन्ने दर्बिलो विश्वास बोकेकी विमला सेवा, नेतृत्व र समर्पणमार्फत समाजमा योगदान दिन सकिने मान्यतामा अडिग छिन् । उनका विचार र कर्मले आजका युवापुस्तालाई स्वदेशमै सम्भावना खोज्न प्रेरित गरिरहेको छ ।
सन् २०२६ का लागि अर्जुनधारा जेसिजको डाइनामिक लिडरका रूपमा अध्यक्ष पदमा निर्वाचित विमला भट्टराईलाई हार्दिक शुभेक्षा । यो यात्रामा उनलाई अर्जुनधारा जेसिजका पूर्वअध्यक्षहरूको साथ, समर्थन र मार्गदर्शन प्राप्त रहेको छ । सामुहिक अनुभव, एकता र विश्वासको बलमा तपाईंको नेतृत्वले संगठनलाई नयाँ उचाइमा पु¥याओस् र समाजमा सकारात्मक परिवर्तनको उज्यालो मार्ग प्रशस्त होस् ।



