२०८२ माघ १८ आइतबार
Jhapa Today
Adv top

अर्जुनधारामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


बिर्तामोड, माघ १८ । झापाको अर्जुनधारा नगरपालिकामा नगरस्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

राष्ट्रपति रनिङ शिल्ड मूल आयोजक समिति संयोजक तथा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा अर्जुनधारा–१ स्थित सिंहदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगिताको उद्घाटन नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले गरे ।

माघ १८ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा विधाका खेलमा प्रतिस्पर्धा हुने खेल संयोजक संजीव गोले तामाङले जानकारी दिए । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, उस्सु र कराते विधा समावेश गरिएको छ ।

प्रतियोगितामा अर्जुनधाराका २८ वटा माध्यमिक विद्यालयका करिब ४ सय विद्यार्थी सहभागी हुनेछन् । सहभागी खेलाडीहरूबीच ६६ स्वर्ण, ६६ रजत र १ सय २ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

त्यस अवसरमा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले १८ वर्षभन्दा मुनिका विद्यार्थी तथा खेलाडीलाई सही प्रशिक्षण र अवसर दिन सके भविष्यमा उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गर्न सक्ने धारणा राखे ।

कार्यक्रममा प्रतियोगिता मूल आयोजक समितिका सचिवसमेत रहेका सिंहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पाण्डेले स्वागत मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन शिक्षक चन्द्र खत्रीले गरेका थिए ।

Adv footer