२०८२ माघ २१ बुधबार
Jhapa Today
Adv top

कोशी पाथिभरा क्रिकेटमा आसामको विजयी सुरुवात


बिर्तामोड, माघ २१ । कोशी पाथिभरा इन्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भारतको राइनोल्यान्ड क्रिकेट एकाडेमी आसामले विजयी सुरुवात गरेको छ ।

आज मेची क्रिकेट मैदान भद्रपुरमा आज भएको खेलमा आसामले जिएचसिए काठमाडौँलाई ४२ रनले पराजित गरेको हो । पहिलो ब्याटिङ गर्दै आसामले १८.१ ओभरमा अलआउट हुँदै ९६ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा आएको काठमाडौँ १६.२ ओभारमा ५४ रनमा अलआउट भएपछि आसामले महत्वपूर्ण ३ अंक जोडेको छ । आसामका तर्फबाट मोहमद हबिबुल्लाले सर्वाधिक १९ रन बनाए भने काठमाडौँका तर्फबाट रुपेश श्रीवास्तवले ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए ।

त्यस्तै, काठमाडौँका तर्फबाट उनले सर्वाधिक १४ रन बनाए भने आसामका तर्फबाट प्राञ्जल भरालीले ४ ओभरमा ९ रन खर्चिएर ३ विकेट लिए ।

प्रतियोगिताको एक समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका थिए ।

भद्रपुर क्रिकेट क्लवका अध्यक्ष आदित्य पराजुलीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले खेलकुद क्षेत्रलाई अघि बढाउन कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले मेची क्याम्पसको क्रिकेट मैदानलाई थप विकसित गर्न कोशी प्रदेश सरकारले लगानी गर्ने बताए ।

संघका सचिव केदार महतले सञ्चालन र प्रतियोगिताका संयोजक तथा भद्रपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गौरव सुब्बाले स्वागतसहित औचित्यमाथि प्रकाश पारेका थिए ।

प्रतियोगितामा नेपालका चार र भारतका चार गरी आठवटा टिमको सहभागिता रहेको छ । टिमलाई दुई समूहमा विभाजन गरिएको छ । अंकका आधारमा सेमिफाइनल खेल्ने टिमको टुंगो लाग्ने आयोजक भद्रपुर क्रिकेट क्लवका महासचिव वसन्त पोखरेलले जानकारी दिए ।

Adv footer