
बिर्तामोड, माघ २५ । डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले स्तब्ध पार्दै झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित सातौँ एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
खेलको २७ औँ मिनेटमा आर्मीले अग्रता लियो । दिनेश हेञ्जनको क्रस पासमा नविन लामाले वान टचमा आर्मीका लागि सुन्दर गोल गरेका थिए । आर्मीले अर्काे गोल पहिलो हाफको इन्ज्युरी समयमा गर्दै अग्रता दोब्बर बनायो । कप्तान जिलेस्पीजंग कार्कीको पासमा नवयुग श्रेष्ठले गरेको एक्रोब्याटिक प्रहार गोलमा परिणत भयो ।
आर्मीले अर्काे गोल फ्रिकिकमार्फत गर्न सफल भयो । जर्जप्रिन्स कार्कीले मैदानको २५ यार्डमा पाएको बललाई सिधै जाली चुमाए ।

खेलको ३२ औँ मिनेटमा आर्मीका कुशल देउवाले गरेको शक्तिशाली प्रहारलाई चर्च ब्वाइजका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाउ गरे । खेलको अधिकांश समय बल नियन्त्रणमा राख्न सफल आर्मीले अरु गोल भने थप्न सकेन ।
तीनजना विदेशी खेलाडीसहित मैदानमा उत्रिएको चर्च ब्वाइजले विपक्षी पोस्टमा खासै दबाब सिर्जना गर्न सकेन । चर्चका खेलाडीहरु आर्मीसामु निरीह बनेका थिए । खेलको २१ औँ मिनेटमा विदेशी खेलाडी जिडेन नाहले डिबक्सबाट गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले विफल बनाए ।
उपाधिको दाबेदार मानिएको आर्मी यो रंगशालामा आयोजना भएका प्रतियोगिताको चार सिजनको विजेता हो । गत सिजनदेखि सहभागिता जनाएको चर्च ब्वाइजले पहिलोपटक नै उपाधि हात पारेको थियो । योपटक आर्मीसामु निरीह बन्दा चर्च ब्वाइज पहिलो चरणमै घर फर्किन बाध्य बनेको छ ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीका नविन लामा घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।
सोमबारको पहिलो क्वार्टर फाइनल खेल झापा–११ फुटबल क्लब र भारतको सिङलिङ स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।




