बिर्तामोड, माघ २७ । झापाको बिर्तामोड–१ मा रहेको क्रिएटिभ आइडल्स एकेडेमीले विविध सांस्कृतिक कार्यक्रम गर्दै ११ औँ वार्षिकोत्सव मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक एजाज अहमद अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका शिक्षा तथा खेलकुद शाखा उपसचिव तिलचन भण्डारीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डे, विद्यालय संरक्षक हाजी सहिदुल हक अन्सारी, बिर्तामोड नगरपालिकाका प्याब्सन अध्यक्ष सुरेन्द्र खरेल, प्याब्सन प्रदेश कमिटी पूर्वकोषाध्यक्ष जीवन पनेरु, न्युटन एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईंको आतिथ्य रहेको थियो ।
नेपाल पत्रकार महासंघ झापाका पूर्वउपाध्यक्ष एवम् पत्रकार केशव भट्टराईले उद्घाटन सत्रको कार्यक्रम तथा शिक्षिका विमला दंगालले बाँकी कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा विद्यार्थी विश्वराज दाहाल र साथीहरूद्वारा राष्ट्रिय भावनाले ओतप्रोत भएको रातो र चन्द्र सूर्य जङ्गी निशाना हाम्रो भन्ने गीत प्रस्तुत गर्दै स्वागत गरेका थिए ।
विद्यालयको विधागत रूपमा वार्षिक कार्यक्रमअन्तर्गत उत्कृष्ट हुने छात्रछात्रालाई प्रमाणपत्र तथा कक्षा आठमा अध्ययनरत् छात्र सलमान अलीलाई सम्मान गरिएको थियो ।
सम्मानित अली बिर्तामोड प्याब्सनद्वारा आयोजित खेलकुद कार्यक्रमअन्तर्गत कराते काता प्रदर्शनमा रजक पदक र विद्यालयमा आयोजित बुद्धिचल प्रतियोगितामा स्वर्ण पदक विजेता छात्रा हुन् ।
विद्यालयले छोटो समयमा उल्लेख्य प्रगति गर्दै विशेषगरी छात्राहरूलाई आत्मरक्षाका लागि सुरुबाटै कराते सिकाइको व्यवस्था रहेको प्रिन्सिपल धनञ्जय रिमालले बताए ।
शिक्षालाई पहिलो प्राथमिकतामा राखेर बिर्तामोडमा २०७१ सालबाट विद्यालय स्थापना गरी दुई सय ६० जना छात्रछात्रालाई पठनपाठन गराउँदै २२ जना कर्मचारीलाई रोजगारको व्यवस्था गरेको जनाएको छ ।




