
बिर्तामोड, २७ माघ । बिर्तामोडमा आजदेखि `महिला पत्रकारका लागि कोशी प्रदेशस्तरीय खोज पत्रकारिता तालिम´सुरु भएको छ।
नारी सञ्चार गृह झापाको आयोजना र टेवाको सहयोगमा महिला पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यो तालिम माघ २९ गतेसम्म सञ्चालन हुनेछ।
तालिममा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर लगायतका जिल्लाबाट ३० जना महिला पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको छ। तीन दिनसम्म चल्ने उक्त तालिमको मुख्य सहजीकरण वरिष्ठ पत्रकार बबिता बस्नेत र उमाकान्त खनालले गरिरहेका छन् ।
तालिमका क्रममा सहभागीहरूलाई खोजमूलक समाचारका स्रोत, लेखन प्रक्रिया, निवार्चन लक्षित रिपोटिङ एवम् डिजिटल पत्रकारिता सम्बन्धि प्रशिक्षण दिइने आयोजकले जनाएको छ।
नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ, कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी प्रमुख अतिथ्यता रहेको थियो ।
संस्थाकी उपाध्यक्ष जोस्ना श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव दीपा पोखरेलले गरेकी थिइन्।




