
बिर्तामोड, माघ २८ । झापाको बिर्तामोडमा नेपाल अर्थोपेडिक एसोसिएसनको वार्षिक सम्मेलन हुने भएको छ । कोशी प्रदेशमै पहिलोपटक हुन लागेको ३१ औँ वार्षिक सम्मेलनमा अर्थकोन २०२६ पनि हुने भएको छ ।
हाडजोर्नी विशेषज्ञ डाक्टरहरूको महाकुम्भ यही माघ २९ गतेदेखि फागुन ३ गतेसम्म हुने अर्थकोन आयोजक समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद मैनालीले बताए । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिइएको हो ।
सम्मेलनमा १०० जनाभन्दा बढी हाडजोर्नीका अन्तर्राष्ट्रिय चिकित्सकहरू सहभागी हुनेछन् भने नेपालबाट ४०० भन्दा बढीको सहभागिता रहने महासचिव डा. रुपेशजंग बेलबासेले जानकारी दिए ।
अर्थकोनअन्तर्गत माघ २९ गते बिर्तामोडका विभिन्न अस्पतालहरूमा प्रिकन्फरेन्स वर्कसप सञ्चालन गरिनेछ भने फागुन १, २ र ३ गते होटल मेची क्राउन धुलाबारीमा अन्तर्राष्ट्रिय सेमिनारको मुख्य कार्यक्रम आयोजना गरिएको छ ।
पत्रकार सम्मेलनमा डा. निराजनप्रसाद पराजुली, डा. नागमणि सिंह र डा. प्रेम शाहीले सम्मेलनका बारेमा जानकारी गराएका थिए ।




