
बिर्तामोड, माघ २८ । भारतको राइनोल्यान्ड क्रिकेट क्लब आसाम कोशी पाथिभरा इण्डो नेपाल टि ट्वान्टी च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा आज भएको पहिलो सेमिफाइनल खेलमा नेपालको फ्रेण्डस् युथ क्लब डडेल्धुरालाई २ विकेटले पराजित गर्दै आसामले फाइनलमा पुगेको हो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको डडेल्धुराले १९.१ ओभरमा सबै विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । बलरलाई साथ दिएको पिचमा डडेल्धुरालाई सस्तैमा समेट्न आसामका गोकुल शर्माले ४ ओभरमा १७ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । तपनकुमार शर्मा र प्राञ्जल भारालीले समान २ तथा निहार डेका र निबिर डेकाले समान १ विकेट लिए ।
डडेल्धुराका दिपक बोहोराले ३१ बलमा ४० र आशिष लुहारले २७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।
जवाफमा आसामको सुरुआत पनि राम्रो हुन सकेन । १२ रनको स्कोर हुँदा ४ विकेट गुमाइसकेको आसामले अन्तिम ओभरमा मात्र जित हासिल गर्यो । आसामले १९.२ ओभरमा ८ विकेट क्षतिमा ९५ रन बनाएर जित हासिल गरेको हो ।

आसामका गोकुल शर्मा र स्वस्तिक क्षेत्रीले समान ३२ रनको बनाए । डडेल्धुराका तर्फबाट अजय चौहानले ४ ओभरमा १३ रन खर्चिएर २ विकेट लिए ।
बलिङ र ब्याटिङ दुबैमा चम्किएका गोकुल शर्मा प्लेयर अफ द म्याच भए । उनले ११ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । उनलाई भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले पुरस्कार प्रदान गरे ।
प्रतियोगिताको विजेता टोलीले ५ र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।




