बिर्तामोड, माघ २८ । कोशी पाथिभरा इण्डो–नेपाल टि–२० च्याम्पियनसिपको फाइनलमा भारतको राइनोल्यान्ड क्रिकेट क्लब आसाम र आयोजक भद्रपुर क्रिकेट क्लब खेल्ने भएका छन् ।

भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउन्डमा जारी प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइनलमा आयोजक भद्रपुरले भारतको ग्लोबल स्टार लखनऊलाई २० रनले हरायो । भोलि बिहीबार हुने फाइनलमा यी दुई टिमको प्रतिस्पर्धा हुनेछ ।
पहिलो सेमिफाइनलमा नेपालको फ्रेन्डस् युथ क्लब डडेल्धुरालाई २ विकेटले पराजित गर्दै आसामले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको भद्रपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रनको मध्यम स्कोर बनाए पनि जीतका लागि पर्याप्त बन्यो । लखनऊले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्र बनायो ।
ब्याटिङतर्फ भद्रपुरका सुजन थपलियाले सर्वाधिक १९ रनको योगदान दिए । बलिङमा भद्रपुरका भुवन कार्कीले ४ ओभरमा २२ रन दिएर सर्वाधिक ३ विकेट लिए । लखनऊका चक्रधर द्विवेदीले ४ ओभरमा २३ रन खर्चिएर २ विकेट लिए भने मञ्जुल दुबेले २७ रनको योगदान दिए ।
प्रतियोगिताको विजेता टिमले पाँच लाख नगद र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद तीन लाख र ट्रफी पाउने प्रतियोगिताका संयोजक गौरव सुब्बा ‘मनोज’ ले जानकारी दिए ।




