बिर्तामोड, माघ २८ । झापाको सीमावर्ती क्षेत्र गौरीगञ्जबाट लागुऔषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । आज दिउँसो १ः३० बजे गौरीगञ्ज २ स्थित बाहुनटोलमा उनीहरु पक्राउ परेका हुन् ।

स्थानीय आँपगाछीबाट बाहुनटोलतर्फ आउँदै गरेको मे. १ ह ५६६७ नम्बरको अटोलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा अटोमा खुट्टा राख्ने म्याटमुनि लुकाइराखेको अवस्थामा ६ ग्राम ९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
सो लागुऔषधसहित अटो चालक शिवसताक्षी २ मनोहरा घर भई हाल दमक ८ बस्ने ३४ वर्षीय दिलकुमार विश्वकर्मा, गौरादह ८ भुँडीसिमल बस्ने २७ वर्षीय अमन ताजपुरिया, सुनसरी धरान १६ घर भई हाल दमक ८ बस्ने १९ वर्षीया दिपा परियार र मोरङ बेलबारी ९ घर भई हाल दमक ८ बस्ने १९ वर्षीया पार्वती चौधरी पक्राउ परेका छन् ।




