२०८२ फागुन १ शुक्रबार
Jhapa Today
Adv top

झापामा निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षाबारे अन्तरक्रिया


बिर्तामोड, फागुन १ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित बनाउने उद्देश्यका साथ झापामा मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

झापाको भद्रपुरमा आज आयोजित निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा विषयमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने बताए ।

मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि निर्वाचन आयोगले यही फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । सोहीअन्तर्गत झापाका १३१ वटा वडामा कार्यक्रम हुनेछ ।

प्रत्येक वडामा एकएकजना मतदाता शिक्षा स्वयमसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने नेपालले जानकारी दिए । स्वयमसेवकले मतदाताको घर, बस्तीमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको उनको भनाइ छ ।

मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने कार्यालयको विश्वास छ ।

आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका बारेमा जानकारी दिने लक्ष्यका साथ मतदाता शिक्षा कार्यक्रम अगाडि बढाउन लागिएको उनले कार्यक्रममा जानकारी दिए ।

कार्यक्रममा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, मर्यादित र विश्वसनीय बनाउन आचारसंहिता लागु गरिएको बताए ।

अन्तरक्रियामा झापाका मुख्य निर्वाचन अधिकृत क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए ।

Adv footer