
बिर्तामोड, फागुन २ । एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले अन्तिम सेमिफाइनल खेलमा मछिन्द्र फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज दिउँसो ३ बजे जारी राष्ट्रिय लिगमा तेस्रो स्थानमा रहेको मछिन्द्रले पाँचौँ स्थानमा रहेको आर्मीसँग फाइनल प्रवेशका लागि खेल्दैछ । आजको खेल जित्नेले कम्तिमा सात लाख ५० हजार रुपैयाँ सुरक्षित गर्नेछ ।
अनुभवी झापाली प्रशिक्षक प्रवेश कटुवालको प्रशिक्षणमा रहेको मछिन्द्रमा झापाका खेलाडीसहित राष्ट्रिय टोलीका सदस्यहरु रहेका छन् । सेट टिम रहेको आर्मीसँग केही पुराना र राष्ट्रिय टोलीका युवा खेलाडी रहेका छन् ।
आर्मीले प्रिक्वार्टर फाइनलमा झापा गोल्डकपको साविक विजेता चर्च ब्वाइज युनाइटेडलाई ३–० ले र क्वार्टर फाइनलमा पोखराको लालीगुराँस एसोसिएसन नेपाललाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।
त्यस्तै, मछिन्द्रले सिधै क्वार्टर फाइनल खेल्दै मलेसियाको एन पेनाङ फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।
यसैबीच, प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।




