बिर्तामोड, फागुन २ । झापाको बुद्धशान्तिमा काठको गोलिया बोकेको ट्रक पल्टिँदा चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

दुद्र्धटनामा घाइते हुनेमा ट्रक चालक अर्जुनधारा-१० बस्ने ४० वर्षीय अनुकुमार चौधरी, सोही ठाउँ बस्ने २८ वर्षीय मुकेश मगर, ३० वर्षीय अमिर तामाङ र २२ वर्षीय राकेश तामाङ रहेका छन् ।
आज दिउँसो ३ बजे बुद्धशान्ति-५ गढीगाउँस्थित भित्री सडकखण्डमा ठुटेबरबाट मंगलबारेतर्फ जाँदै गरेको गोलिया बोकेको ना.६ ख.७९५४ नम्बरको ट्रक आफैँ अनियन्त्रित भएर सडकको बायाँतर्फ पल्टिएको हो ।
चारैजना घाइतेको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । ट्रकमा लोड अनलोडको काम गर्ने मानिसहरु घाइते भएका हुन् । ट्रक घटनास्थलमा नै रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



