
बिर्तामोड, फागुन ३ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ, भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी, हिमाली तथा पहाडी भूभाग र बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।



