बिर्तामोड, फागुन ४ । एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधिका लागि आज मछिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन् ।

झापा गोल्डकपमा मछिन्द्र पहिलोपटक फाइनल पुगेको हो भने एपिएफ लगातार दोस्रोपटक फाइनल खेल्दैछ । सातवटै संस्करणमा सहभागी एपिएफ र दोस्रोपटक सहभागी मछिन्द्र दुवै क्लबले उपाधि हात पार्ने दाबी गरेका छन् ।
मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटवालले अहिले चलिरहेका अन्य चर्चित प्रतियोगिताहरु छोडेर झापा गोल्डकपमा फोकस गरेको बताए । उनले मछिन्द्रको ए टिम मैदानमा उतार्ने बताएका छन् । उनले अधिकांश झापाली खेलाडी समेटेर बनाएको टिमलाई दर्शकको समर्थनसमेत जितको एउटा आधार हुने बताए ।
त्यस्तै, एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले राष्ट्रिय लिगमा समेत उच्च प्रदर्शन गरेका र नियमित क्याम्पमा रहेका पहिलो दर्जाका खेलाडीले सशक्त प्रदर्शन गर्ने बताए । उनले पनि झापा गोल्डकपलाई नै फोकस गरेर केही समयदेखि पूर्ण तयारी गरेको जानकारी दिए ।
मछिन्द्रका कप्तान विशाल श्रेष्ठले अधिकांश खेलाडी मैदानसँग परिचित भएका कारण होम ग्राउन्डमा खेलेको अनुभव हुने भएको भन्दै खेलका लागि सहज हुने बताए । उनका अनुसार मछिन्द्रको लागि जित नै पहिलो लक्ष्य हो ।
एपिएफका कप्तान हरि कार्कीले आयोजक टिमलाई पराजति गरेर मनोबल उच्च बनाएको बताए । आज डोमालाल राजवंशी रंगशालामा हुने फाइनलमा उपाधि हात पारेर झापा गोल्डकपको इतिहाँसमा नयाँ रेकर्ड बनाउने उद्घोष उनले गरे ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्लेयर अफ द म्याचले नगद २५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताभरि प्लेयर अफ द म्याच र विधागत पुरस्कार अमेरिका निवासी रोशनलाल श्रेष्ठ तथा उनका साथीहरुले प्रदान गर्दै आएका छन् ।
यसैबीच, प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएका एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।




