बिर्तामोड, फागुन ७ । झापा जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले हात पारेको छ । अर्जुनधारा लगातार चौथोपटक च्याम्पियन बनेको हो ।

झापा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा गौरादह नगरपालिकाको संयोजनमा गौरादहस्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा भएको प्रतियोगितामा १४ वटा पालिकालाई पछि पार्दै अर्जुनधारा नगरपालिकाले उपाधि हात पारेको हो ।
अर्जुनधारा नगरपालिका २२ स्वर्ण ५ रजत र १४ कास्य पदकसहित प्रथम, दमक नगरपालिका १४ स्वर्ण १४ रजत र ५ कास्य पदकसहित दोस्रो र बिर्तामोड नगरपालिका ७ स्वर्ण १० रजत ८ कास्य पदकसहित तेस्रो भएको झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्वाङले जानकारी दिए ।
प्रतियोगितामा समान ४/४ स्वर्ण पदक जितेका बाह्रदशी गाउँपालिकाका सुबोध थापा र बिकी राजवंशी उत्कृष्ट खेलाडी घोषित भएको उनले बताए ।
झापा जिल्लाभित्रका १५ वटा पालिकाका माध्यमिक विद्यालयस्तरीय प्रतियोगिताबाट छनोट भएर आएका १८ वर्षमुनिका खेलाडी विद्यार्थीहरूले १२० स्वर्ण, १२० रजत र २४० कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा भलिबल, कबड्डी, कराते, तक्वान्दो, उसु र एथलेटिक्सअन्तर्गत २ सयदेखि ३ हजार मिटरसम्मका दौड, रिले दौड, हाइजम्प, लङजम्प, ज्याबलिङ थ्रो, सटफुट लगायतका खेलमा छात्र तथा छात्रा खेलाडीले एकल तथा सामुहिक प्रतिस्पर्धा गरेका थिए ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षता तथा गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।




