
बिर्तामोड, फागुन ८ । झापाको बिर्तामोडमा रहेको एक टायर सोरुमबाट टायर चोरी गरेको आरोपमा अर्जुनधाराका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
बिर्तामोडमा रहेको एमआरएफ कम्पनीको टायर सोरुम प्रमोद एन्ड ब्रदर्सबाट गत सोमबार राति टायर चोर्दै गरेको अवस्थामा सुरक्षा गार्डले देखेपछि रिमाल थरका ती व्यक्तिm भागेका थिए ।
प्रमोद एन्ड ब्रदर्शका सञ्चालक सुनिल चौधरीका अनुसार चोरीमा संलग्न रिमालले त्यही सोरुममा एक वर्ष काम गरेका थिए । उनले सोरुम छोडेको एक वर्ष नै भएको चौधरीले बताए ।
नेपाली सेनाका निवृत्त रिमालले मास्क लगाएर टायर चोर्दै गरेको सिसी टिभी क्यामेराको फुटेजमा देख्न सकिन्छ । कम्पनीले भोलिपल्ट बिहान फुटेज हेर्दा टायर चोर्दै गरेको व्यक्ति रिमाल भएको पुष्टि भएको थियो ।
सञ्चालक चौधरीका अनुसार पक्राउ परेका रिमालले चार लाख रुपैयाँ क्षतिपूर्तिबापत दिन तयार रहेको बताइसकेका छन् । रिमालले एक वर्षयता सो सोरुमबाट टायर चोर्दै आएको बताइएको छ ।
क्षतिपूर्ति भन्दा पनि रिमालले चोरेको टायर बिक्री गर्ने स्थान आफूलाई चाहिएको चौधरीले जानकारी दिए । ‘चारेर कसलाई बिक्री गथ्र्यो भन्ने मेरो माग हो’, चौधरीले भने, ‘उसको पसल छैन, कहाँ बेच्यो त चोरेको टायर ?’
यसैबीच, इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले रिमाल पक्राउ परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।



