बिर्तामोड, फागुन ८ । झापा बिर्तामोडको एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमीले नवौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियंका कटुवाल, बिर्तामोड नगरपालिकाकी शिक्षा अधिकृत जानुका रेग्मी, योजना अधिकृत जय तिम्सिना, सामाजिक व्यक्तित्व किशोर प्रसाईं, कपिल प्रसाईं, न्युटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईंलगायतले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै शिक्षासेवी तथा विद्यालयका संस्थापक स्वर्गीय हरि प्रसाईंको तस्वीरमा माल्यार्पण गरी गरेका थिए ।
वार्षिकोत्सवका अवसरमा सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारीलाई सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट शिक्षकको रूपमा शिक्षक तीर्थराज खतिवडालाई सम्मान गरिएको थियो ।
संस्थागत विद्यालयको विकासमा योगदान पुर्याएको भन्दै बालकल्याण अंग्रेजी स्कुल चारपानेका संस्थापक राम सिटौलालाई सम्मान गरिएको थियो भने असल अभिभावकका रूपमा व्यवसायी ओमप्रकाश श्रेष्ठ र डा. चाँदनी प्रधान सम्मानित भएका थिए ।
एसइइ २०८० मा उत्कृष्ट नतिजा ल्याउने निकिता तामाङ तथा २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने सिद्धान्त ढकाललाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत तथा सांस्कृतिक प्रस्तुति दिएका थिए । कक्षा १० का विद्यार्थी सम्भव प्रसाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।
कार्यक्रममा सहभागी वक्ताहरूले संस्थापक तथा शिक्षासेवी स्वर्गीय हरि प्रसाईंले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरेका थिए ।
यसैबीच, विद्यालयका प्रिन्सिपल अनुप शर्माले संस्थाले स्थापनाकालदेखि नै गुणस्तरीय, व्यावहारिक तथा जीवनोपयोगी शिक्षा प्रदान गर्ने लक्ष्यसहित अघि बढेको बताए ।
अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी र शुभेच्छुकहरूको निरन्तर सहयोग र विश्वासकै कारण विद्यालयले शैक्षिक यात्रामा उल्लेखनीय उपलब्धि हासिल गरेको उनको भनाइ थियो ।
शर्माले विद्यालयले विद्यार्थीकेन्द्रित शिक्षण पद्धति, परियोजना कार्य, प्रस्तुति, समूहगत सिकाइ तथा आधुनिक मूल्याङ्कन प्रणालीलाई प्राथमिकतामा राख्दै कक्षा शिक्षणलाई जीवनसँग जोड्ने प्रयास गरिरहेको बताए ।
आन्तरिक तथा बाह्य मूल्याङ्कनमा विद्यार्थीको नतिजा प्रत्येक वर्ष सुधार हुँदै गएको जानकारी दिँदै उनले विस्तृत शैक्षिक प्रतिवेदन परीक्षा परिणामसँगै सार्वजनिक गरिने उल्लेख गरे ।
डे–स्कुल अवधारणाअनुसार बिहानदेखि बेलुकासम्म नियमित पठनपाठन सञ्चालन भइरहेको र सह–पाठ्यक्रम गतिविधि, खेलकुद, सांस्कृतिक कार्यक्रम तथा सिर्जनात्मक अभ्यासमार्फत विद्यार्थीको अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकास भएको उनले बताए ।
विद्यालयमा नर्सरीदेखि फोनिक्स कक्षा, कक्षा १ देखि ७ सम्म लेखन अभ्यास, कारखाना कक्षा, स्काउट तथा कोडिङ कक्षा सञ्चालन भइरहेको जानकारी उनले दिए । परीक्षाकेन्द्रित मोटिभेसनल सेसन तथा प्रिबोर्ड परीक्षा नियमित सञ्चालन गरिएको पनि उनले बताए ।
शिक्षक विकासलाई प्राथमिकता दिँदै तीनवटा क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन गरिएको तथा अभिभावक शिक्षा कार्यक्रममार्फत पोषण, स्वास्थ्य र अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको उनले उल्लेख गरे । आगामी वर्ष अभिभावक तालिमलाई थप विस्तार गरिने योजना रहेको उनले सुनाए ।
भौतिक पूर्वाधार सुधारतर्फ विद्यालयले कक्षाकोठा, सिकाइ सामग्री तथा बालमैत्री वातावरण विकासमा जोड दिएको र नयाँ शौचालय तथा चेन्जिङ रुम निर्माण भइरहेको जानकारी दिए ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उनले विद्यालयको मुख्य आय स्रोत विद्यार्थी शुल्क रहेको बताए । वार्षिक रूपमा शिक्षक तथा कर्मचारी तलबतर्फ करिब एक करोड ७० लाख रुपैयाँ खर्च हुने, यातायात तथा इन्धनतर्फ करिब पचास लाख ५८ हजार रुपैयाँ खर्च हुने जानकारी उनले दिए ।
विद्युत् तथा पानीमा सात लाख, सामाजिक सुरक्षा कोषमा चार लाख ४० हजार, घरबहाल कर १३ लाख, आयकर नौ लाख तथा छात्रवृत्तिमा ६७ लाख रुपैयाँ खर्च गरिएको उनले बताए ।
सीमित स्रोतसाधन, बढ्दो शैक्षिक आवश्यकता र अस्वस्थ प्रतिस्पर्धा चुनौतीका रूपमा रहे पनि आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक विकास, प्रविधिमैत्री शिक्षण र अभिभावकसँग सहकार्यलाई थप सुदृढ बनाउने योजना रहेको उनले स्पष्ट पारे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियंका कटुवाल प्रमुख अतिथि रहेकी थिइन् ।



