बिर्तामोड, फागुन ८ । झापामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ हजार ३८० जना जनशक्ति परिचालन गरिने भएको निर्वाचन कार्यालय झपाले जनाएको छ ।

कार्यालयका अनुसार ४ हजार ९३० जना कर्मचारी, २ हजार ४१५ जना स्वयमसेवक र निर्वाचन अधिकृतको कार्यालयबाट ४५ जना खटिने छन् । जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले त्यसबाहेक जिल्ला निर्वाचन कार्यालयबाट केही कर्मचारी खटिने जानकारी दिए ।
झापामा २८५ वटा मतदानस्थल र ८१५ वटा मतदानकेन्द्र रहेका छन् । एउटा मतदान केन्द्रमा ६ जना कर्मचारी रहने छन् । एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, तीनजना सहायक कर्मचारी र एकजना कार्यालय सहयोगी रहने मुख्य निर्वाचन अधिकृत उमेश लुइँटेलले बताए ।
झापामा तीनवटा अस्थायी मतदान केन्द्रको पनि व्यवस्था गरिएको छ । दमक नगरपालिका, झापा कारागार र कर्मचारी मिलन केन्द्र भद्रपुरमा अस्थायी मतदानकेन्द्र रहने जिल्ला निर्वाचन अधिकारी नेपालले जानकारी दिए ।
अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारीसहित तीनजनाका दरले खटाइने जनाइएको छ ।
झापामा फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । फागुन १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमका लागि १३१ वटा वडामा १३१ जना मतदाता शिक्षा स्वयमसेवक र १५ जना मतदाता शिक्षा अनुगमनकर्ता खटाइएको छ ।
झापामा निर्वाचनका सम्पन्न गराउनका लागि जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी गरी लगभग ९ हजार सुरक्षाकर्मी खटाइने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।


