२०८२ फागुन ९ शनिबार
Jhapa Today
Adv top

कञ्चन अंग्रेजी विद्यालयका उत्कृष्ट शिक्षकलाई सम्मान


बिर्तामोड, फागुन ९ । झापाको बिर्तामोड ७ मा रहेको कञ्चन अंग्रेजी विद्यालयको खेलकुद सप्ताह समापनको अवसरमा दुईजना शिक्षकलाई सम्मान गरेको छ ।

उत्कृष्ट कार्य गरेको भन्दै प्राइमरी तहकी नेहा राजवंशी र प्रि–प्राइमरी तहकी भद्रशिला राईलाई नगदसहित सम्मान गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्दिरा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अविरल कृष्ण खरेल, विद्यालयका प्रधानाध्यापक दिपक चम्लागाईं, सञ्चालकहरु बद्री बास्कोटा, डिल्लीराम चम्लागाईंले सम्मान गरेका थिए ।

कार्यक्रममा सप्ताहव्यापी खेलकुद प्रतियोगितामा विजयी हुने ४८३ जनालाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको विद्यालयका प्रधानाध्यापक चम्लागाईंले जानकारी दिए ।

खेलकुद प्रतियोगिताका विजेता तथा उपविजेता विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

स्तरीय पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत अग्रस्थानमा रहेको कञ्चनमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । सञ्चालक बद्री बास्कोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चालक डिल्लीराम चम्लागाईं र शिक्षक सागर कोइरालाले गरेका थिए ।

Adv footer