
बिर्तामोड, फागुन ११ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा दाल तथा तरकारीजन्य वस्तु आयातमा २२ अर्ब २५ करोड ७८ लाख ३५ हजार रुपैयाँ बाहिरिएको छ ।
यो अवधिमा ५ लाख १९ हजार ४२८.७२ मेट्रिक टन दाल तथा तरकारीजन्य वस्तु आयात भएको छ । उक्त परिमाणमा तरकारीजन्य वस्तु आयात हुँदा २४ लाख ६२ हजार ३८३ हजार रुपैयाँ भन्सार विन्दुमा राजस्व संकलन भएको छ ।
यसमध्ये १४ अर्ब १० करोड ९ लाख ६२ हजार रुपैयाँको ४ लाख ३९ हजार ९०५.१४ मेट्रिक टन तरकारी आयात भएको छ भने ९ करोड १५ लाख ५५ हजार रुपैयाँको २ हजार ४९१.५९ मेट्रिक टन कन्दमुल (तरुल, सखरखण्ड, पिँडालु) आयात भएको छ ।
८ अर्ब ६ करोड ५३ लाख १८ हजार रुपैयाँको ७७ हजार ३१.९९ मेट्रिक टन दाल तथा गेडागुडी आयात भएको छ । यसमध्ये ४ अर्ब ५ करोड बराबरको ३८ हजार ७३४.२३ मेट्रिक टन राजमा आयात भएको छ ।
२ अर्ब ४३ करोड रुपैयाँको २५ हजार ६८९.१० टन मुसुरो, ३९ करोड २७ लाख ७३ हजार रुपैयाँको रहर दाल र ३७ करोड ८४ लाख रुपैयाँ बराबरको केराउ आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
१४ अर्ब बराबरको तरकारी मात्रै
सात महिनामा तरकारी मात्रै १४ अर्ब १० करोड बराबरको आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । यसमध्ये ६ अर्ब ५६ करोड बराबरको २ करोड ७२ लाख १३ हजार ९६६.३० मेट्रिक टन आलु आयात भएको छ ।
४ अर्ब २५४ करोड रुपैयाँको १ लाख २ हजार ८०.१६ मेट्रिक टन प्याज, १ अर्ब ७३ करोड रुपैयाँको १२ हजार ३ सय २५.०५ मेट्रिक टन लसुन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।



