२०८२ फागुन १२ मंगलबार
Jhapa Today
Adv top

कनकाई ओलीद्वारा एसइइका विद्यार्थीलाई निःशुल्क खानाको व्यवस्था


बिर्तामोड, फागुन १२ । झापा कनकाईका समाजसेवी दिपक ओलीले आफ्नो सेवामुलक कार्यलाई निरन्तरता दिँदै एक सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क खानाको व्यवस्था गरिदिएका छन् ।

कनकाई-२ जामुनबारीमा रहेको सरस्वती माध्यमिक विद्यालयका माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारीमा रहेका २२ जना विद्यार्थीलाई ओलीले निःशुल्क खानाको व्यवस्था गरिदिएका हुन् ।

आज विधिपूर्वक विद्यालयको एक कोठामा विद्यार्थीलाई खाना खुवाउने कामको सुरुवात गरिएको ओलीले जानकारी दिए । २२ जना विद्यार्थी र केही शिक्षकलाई एसइइ परीक्षासम्म खानाको व्यवस्थापन गरिने उनले बताए ।

सइइको तयारीमा रहेका विद्यार्थीहरु बिहान ६ बजे नै विद्यालय आउने र घर पुगेर आउँदा पढाइमा असर पर्ने देखेर ओलीले विद्यालयमै आफ्नो एकल खर्चमा बिहानको खानाको व्यवस्था गरेका हुन् । ओलीले आफूले सुरुवात गरेको अभियानमा सहयोगी दाताहरुलाई जोडिन पनि आग्रह गरेका छन् ।

केही विद्यार्थीका अभिभावक दैनिक ज्याला मजदुरीमा जाने भएकाले पनि ओलीले विद्यार्थीको सहजताका लागि एक छाक खानाको सुरुवात गरेको जानकारी दिए । विद्यार्थीहरुलाई झन्डै डेढ महिना विद्यालय लागेको दिन खाना खुवाइनेछ ।

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका सचिव रहेका ओली लायन्स क्लब अफ कनकाई दुर्गापुरका सचिव र पर्यटन मञ्च झापाका कार्यसमिति सदस्य हुन् । उनले अघि पनि सो विद्यालयका विद्यार्थीलाई ब्याग तथा न्यानो कपडा प्रदान गरिसकेका छन् ।

Adv footer