
बिर्तामोड, फागुन १३ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानपछि मतपत्रलाई गणनास्थलसम्म पुर्याउने सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ । विगतमा मतपत्र ढुवानीको सुरक्षामा प्रहरी र सशस्त्र प्रहरीलाई मात्र परिचालन गरिन्थ्यो ।
मतदान भइसकेपछि मतपेटिका मतगणनास्थल लैजाने जिम्मा सेनालाई अनिवार्य गरिएको यो पहिलोपटक हो । २०६४ को संविधानसभा निर्वाचनमा सेनालाई ब्यारेकमा सीमित पारिएको थियो । त्यति बेला सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचन सुरक्षामा परिचालन गरिएको थियो ।
२०७० को दोस्रो संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ का प्रतिनिधिसभा÷प्रदेशसभा एवम् स्थानीय तह निर्वाचनमा सेनालाई बाहिरी घेराको जिम्मा दिएर परिचालन गरिएको थियो । यसपालि भने आवश्यकताका आधारमा सुरक्षाको कमान्ड नै सेनाले लिनेगरी तयारी गरिएको छ ।
यसपालि ‘असामान्य परिस्थिति’ मा निर्वाचन हुँदै गरेको भन्दै सुरक्षामा सेनाको उपस्थिति र भूमिकालाई बढाइएको निर्वाचन आयोग र गृह मन्त्रालयले जनाएका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि सुरक्षा संयन्त्रहरू सक्रिय भइसकेका छन् ।
केन्द्रीय सुरक्षा समितिबाट पारित ‘निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना–२०८२’ अनुसार सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीलाई देशभर परिचालन गरिएको छ । सेनाका अनुसार करिब ८० हजार सैनिक निर्वाचन सुरक्षामा परिचालन भइसकेका छन् ।
नेपाल प्रहरीबाट करिब ७१ हजार सुरक्षाकर्मी निर्वाचनमा खटिएका छन् । मतदानस्थलको भित्री सुरक्षा व्यवस्थापन जिम्मा नेपाल प्रहरीले पाएको छ । मतदानस्थल वरिपरि निर्वाचन प्रहरीले सहयोग गर्नेछन् ।
दोस्रो घेराको सुरक्षा प्रबन्धको जिम्मा पाएको सशस्त्र प्रहरीबाट करिब ३५ हजार सुरक्षाकर्मी खटाइँदैछ । बाहिरी सुरक्षा घेराको जिम्मा सेनाले लिएको छ । आवश्यक परे चारवटै सुरक्षा निकायबाट खटिएका जनशक्तिको संयुक्त कमान्ड लिने अधिकारसमेत सेनाले पाएको छ ।
गृह मन्त्रालयका अनुसार मतदान, मतपेटिकाको ढुवानी, मतगणना र मतपरिणाम आएपछिको अवस्थालाई समेत आँकलन गरेर सुरक्षाकर्मी परिचालन गरिँदैछ । बाहिरी सुरक्षा घेरामा खटिएका नेपाली सेना र सशस्त्र प्रहरी टोली हरेक निर्वाचन क्षेत्रमा ‘अस्थायी बेस’ खडा गरी बसिसकेका छन् ।
मतदानस्थलमा खटिने निर्वाचन प्रहरीलाई छुट्टै ‘निर्वाचन सुरक्षा तालिम’ दिएर मंगलबारबाट कार्यस्थलतर्फ खटाइएको छ । केही दिनभित्रै सबै जनशक्ति मतदानस्थलमा पुग्नेछन् ।



