
बिर्तामोड, फागुन १३ । देशका लघुवित्त वित्तीय संस्थाहरु क्रमशः थलिँदै जान थालेका छन् । केही वर्षयता कोरोना महामारीको प्रभाव, मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायतको लघुवित्त बहिस्कार अभियानदेखि विभिन्न गतिविधिको प्रभाव अहिले लघुवित्त क्षेत्रमा देखिन थालेको छ ।
बढ्दो खराब कर्जा
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा उत्तिकै बढेको छ । हाल सञ्चालनमा रहेका लघुवित्तमध्ये अधिकांश संस्थाको निष्क्रिय कर्जा (एनपिएल) बढ्दो क्रममा छ ।
दोस्रो त्रैमाससम्म लघुवित्तहरूले कुल ४ अर्ब ७९ करोड २ लाख ६८ हजार रुपैयाँ नाफा कमाएका छन्, जुन गत आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिको तुलनामा करिब ८९ प्रतिशतले बढी हो ।
औसत खराब कर्जा १० प्रतिशत नाघ्यो
लघुवित्तहरूको औसत खराब कर्जा दर ६.४५ प्रतिशतबाट बढेर १०.२९ प्रतिशत पुगेको छ, अर्थात् ३.८३ प्रतिशत बिन्दुले वृद्धि भएको हो ।
५० लघुवित्तमध्ये ४६ को खराब कर्जा बढेको देखिएको छ भने २१ संस्थाको खराब कर्जा दर १० प्रतिशतभन्दा माथि पुगेको छ । यस अवधिमा चार लघुवित्तले मात्र आफ्नो खराब कर्जा घटाउन घटाएका छन् ।
सबैभन्दा बढी खराब कर्जा नेरुडे मिर्मिरेमा
६ महिनाको अवधिमा सर्वाधिक खराब कर्जा बढी हुने कम्पनीमा नेरुडे मिर्मिरे लघुवित्त अग्रस्थानमा रहेको छ । यसको खराब कर्जा १७.२८ प्रतिशत बिन्दुले बढेर २५.७५ प्रतिशत पुगेको छ, जुन समग्र क्षेत्रकै उच्च दर हो ।
त्यस्तै, नेष्डो समृद्धि लघुवित्त (२१.६०%), मेरो माइक्रोफाइनान्स (१९.५४%), विजय लघुवित्त (१९.३७%), सिवाईसि नेपाल लघुवित्त (१८.४८%), इन्फिनिटी लघुवित्त (१७.८५%) र नाडेप लघुवित्त (१७.५४%) को खराब कर्जा दर पनि उच्च देखिएको छ ।
हाल नेपालमा लघुवित्त वित्तीय संस्था ५१ वटा रहेको छ भने शाखा संख्या ११ हजार ५०३ रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
६२ लाख घरधुरीमा पहुँच, ५ खर्ब लगानी
हाल लघुवित्त संस्थाहरूले करिब ६२ लाख घरधुरीमा सेवा पु¥याएका छन् । तीमध्ये २७ लाख घरधुरीले कर्जा उपयोग गरिरहेका छन् । कुल कर्जा लगानी करिब ५ खर्ब रुपैयाँ पुगेको छ, जसमा ९४ प्रतिशत कर्जा महिलामा प्रवाह भएको तथ्यांक छ ।



