
बिर्तामोड, फागुन १३ । कोशी प्रदेशको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाल प्रहरीका पाँचजना प्रहरी नायव उपरीक्षक (डिएसपी) परिचालन गरिएको छ । यो क्षेत्रमा केन्द्रीय सुरक्षा समितिको बैठकले नयाँ र पुराना दलबीच द्वन्द्व हुनसक्ने चुनौती आँकलन गरेको थियो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन साहले उम्मेदवारी दिएको झापा ५ मा हेभिवेटका कारण र नयाँ–पुरानाबीच मुठभेड हुने चिन्ता भएपछि पाँचजना डिएसपी खटाइएको हो ।
झापा ५ मा इलाका प्रहरी कार्यालय दमकमा मात्र डिएसपीको दरबन्दी रहेको छ । गौरीगञ्जमा प्रहरी निरीक्षक छन् । तर, गृह मन्त्रालयले थप चारजना डिएसपी पठाएको जनाएको छ ।
झापा क्षेत्र नम्बर ५ को प्रत्येक पालिकामा एकएकजना डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । गौरीगञ्ज, गौरादह र कमल गाउँपालिकामा पनि डिएसपीको कमाण्ड रहेको छ ।
झापा ५ मा मात्र दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि यसअघि तैनाथ सुरक्षाकर्मीका अलावा थप टोली परिचालन गरिएको हो ।
करिब दुई साताअघि कोशी प्रदेश प्रहरी कार्यालयबाट सयजना प्रहरी झापा ५ मा ल्याइएकोमा फेरि केही दिनअघि चारजना डिएसपीसहित ठुलो संख्यामा प्रहरी गृह मन्त्रालयबाट खटिएका छन् ।
निर्वाचनलाई लक्षित गरी झापामा तीन गुणा प्रहरी थप गरिएको झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले बताइन् । उनले झापामा निर्वाचन गराउन यथेष्ट प्रहरी रहेको जानकारी दिइन् । झापामा थप एकजना जनपद प्रहरीका एसपी आउने चर्चा छ ।



