२०८२ फागुन १३ बुधबार
Jhapa Today
Adv top

भारतीयको ठगी गर्ने योजना विफल, एक नेपालीसहित सातजना पक्राउ


बिर्तामोड, फागुन १३ । संगठित रुपमा ठगी तथा आपराधिक लाभ लगायत उद्देश्य राखेर नक्कली नोट र सरकारी छाप तथा दस्तखत कागजात कीर्ते गरेको अभियोगमा छजना भारतीय नागरिकसहित सातजनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने छजना नै भारत पश्चिम बंगाल राज्यका हुन् । एकजना नेपाली छन् । प्रहरीले पश्चिम बंगाल राज्यआदर्श पल्ली बस्ने ४५ वर्षीय अरिन्दम धर, सारत पल्ली बस्ने ३६ वर्षीया दिपा भौमिक, चन्द्रमोहन गुहारोड, हरिनभी, साउथ २४ पार्गानास बस्ने ३५ वर्षीय सुमन सरकारलाई पक्राउ गरेको हो ।

त्यस्तै, पार्गानास मुसलमान पारा बस्ने ३७ वर्षीय नुर कलाम शेख, जलपाइगुरी बस्ने ५२ वर्षीय जबेद अली हुसेन, उमाचरनपुर फालाकाता बस्ने २० वर्षीय फारुक अज्मी र झापा कमल-६ बस्ने ४३ वर्षीय देवेन्द्र सापकोटालाई पक्राउ गरिएको हो ।

उनीहरुलाई दुईवटा कारसहित हिजो साँझ ६ बजे भद्रपुर-८ एयरपोर्ट घोडामारा सडकखण्डमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनीहरुका साथबाट आन्तरिक राजस्व विभागको कारोबारवालाको नाम अरिन्दम धर उल्लेख भएको नेपाल सरकारको निशान छाप प्रयोग भएको दर्ता प्रमाणपत्र, आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरबाट अरिन्दम धरको नाममा करचुक्ता प्रमाणपत्र, नेपाल सरकारको निशान छाप भएको स्ट्याम्प प्याड लगायत बरामद गरिएको छ ।

त्यस्तै, नेपाल प्रहरीको प्रहरी वरिष्ठ नायव निरीक्षक दर्जा भएका सञ्जयकुमार गिरीको नाम उल्लेख भएको नक्कली प्रहरी परिचयपत्र पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

हिजो साँझ दुईवटा भारतीय नम्बर प्लेटको सवारीसाधन शंकास्पद रुपमा चन्द्रगढी भद्रपुरबाट काँकरभिट्टातर्फ गइरहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालको २ नम्बर हेडक्वार्टर गणले जाँच गर्ने क्रममा गाडीमा रहेका मानिसहरुलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गर्दा उनीहरुले संगठित रुपमा ठगी, आपराधिक लाभ लगायतको उद्देश्य राखेर नोट (कागजि मुद्रा) आकारको सादा कागजको प्रत्येक बन्डलमा तलमाथि सक्कली कागजी मुद्रा राखेको पाइएको छ ।

त्यस्तै, उनीहरुले आफूले व्यापारमा नाफा कमाएको र भारत लैजान अड्चन भएको भन्दै चिनाजान वा व्यापारिक पृष्ठभूमिका व्यक्तिहरुलाई भिडियो सन्देश पठाएर ठगी गर्ने योजना बनाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले अभियुक्तहरुले मेचीनगर-४ आमडाँगीमा लुकाएर राखिएको २१ वटा टिनको बाक्सा र २३७ बन्डल नोट आकारको सादा कागज बरामद गरेको छ ।

ठग्ने योजनासहित कीर्ते गरी बनाइएका कागजातहरु सत्य देखाउन नोटरी पब्लिकबाट प्रमाणित गराउन काँकरभिट्टाबाट चन्द्रगढी आउँदा प्रहरीको फन्दामा परेका थिए ।

Adv footer