२०८२ फागुन १३ बुधबार
Jhapa Today
Adv top

बिर्तामोड बसपार्क क्षेत्रको रोक्का जग्गा फुकुवा गर्ने सहमति, आन्दोलन फिर्ता


बिर्तामोड, फागुन १३ । झापा बिर्तामोडको गिरीबन्धु टि स्टेटसँगै विवादमा आएको बसपार्क क्षेत्रको जग्गा फुकुवा गर्न पहल गर्ने सहमति भएपछि जारी आन्दोलन फिर्ता भएको जनाइएको छ ।

बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेको ५१ बिघा जग्गाको रोक्का फुकुवा गर्ने र आन्दोलनरत पक्षले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिने आज सहमति भएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा अर्जुनधारा नगरपालिकाको कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले ६ बुँदे समझदारी गर्दै लामो समयदेखिको विवादलाई निकास दिएको हो ।

सहमतिसँगै बसपार्कको ५१ बिघा क्षेत्रमा राजनीतिक दल र उम्मेदवारहरुलाई ‘प्रवेश निषेध’ लेखिएका होर्डिङ बोर्ड तथा व्यानरहरु हटाइएको छ । बोर्ड हटाइएसँगै दल र उम्मेदवारहरुलाई अब उक्त क्षेत्रमा मत माग्न र राजनीतिक गतिविधि सञ्चालनका लागि प्रवेश खुला भएको छ ।

बिर्तामोड–५ र अर्जुनधारा–११ मा रहेको जग्गा विभागीय कार्यालयबाट रोक्का भएपछि स्थानीयबासीहरू आन्दोलित थिए । उनीहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई लक्षित गरी राजनीतिक दल र उम्मेदवारहरूलाई क्षेत्र प्रवेशमा रोक लगाउने तथा निर्वाचनसम्बन्धी गतिविधिमा निषेध गर्ने घोषणा गरेका थिए ।

बैठकमा दुवै नगरपालिकाका जनप्रतिनिधिहरूले सो जग्गा कानुनबमोजिम फुकुवा गर्न सम्बन्धित निकायहरूमा विशेष पहल गर्ने र पीडितहरूको माग पूरा गर्न सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र आन्दोलनका अगुवाहरूले हस्ताक्षर गरेका छन् ।

Adv footer