
बिर्तामोड, फागुन १४ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्यको चुनाव गर्ने घोषणा गरेयता वैदेशिक रोजगारीका लागि ३ लाख ३६ हजार ४९५ युवा बाहिरिएका छन् ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असोजमा ६४ हजार ६३४, कात्तिकमा ७३ हजार ९४, मंसिरमा ६५ हजार ७०५, पुसमा ६२ हजार ५५९ जना र माघमा ७० हजार ५०३ जना युवा वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन् ।
विभागका अनुसार बिदामा नेपाल आएर पुनः रोजगारीका लागि फर्कने युवाको संख्या १ लाख ८१ हजार रहेको छ भने म्यानपावरमार्फत नयाँ रोजगारीका लागि बाहिरिने युवाको संख्या १ लाख ३९ हजार ९ सय ४८ रहेको छ ।
वैदेशिक रोजगारीका लागि बाहिरिने युवामध्ये पुरुषको संख्या २ लाख ९६ हजार ९०१ रहेको छ भने महिलाको संख्या ३९ हजार ५९४ छ ।
राजनीतिक दलका घोषणापत्रमा युवा र रोजगार
देशका प्रमुख राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा जेनजी आन्दोलनको मर्मअनुरुप युवा केन्द्रित घोषणापत्र ल्याएका छन् ।
दलहरुले विशेषगरी वैदेशिक रोजगारीमा गएका युवाहरुलाई मुलुकभित्रै राख्न र नेपालमा ल्याउन रोजगारी सिर्जना र श्रमका विषय घोषणापत्रमा समावेश गरेका छन् ।
राजनीतिक दलको घोषणा पत्रमा विदेशबाट फर्किएका युवालाई विमानस्थलमै सम्मान गर्ने, युवालाई इन्टरनेट डाटा र ऋण बाँड्नेसम्मका सपनाहरु उल्लेख गरेका छन् ।


