
बिर्तामोड, फागुन १४ । प्रहरीले झापाको बिर्तामोडबाट भन्सार छलेर नेपाल भित्र्याएको झन्डै ११ लाख रुपैयाँबराबरको अवैध सामान बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मारुती भ्यानमा भन्सार छलेर ल्याइएका सामानहरु अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको टोलीले बरामद गरेको हो ।
गाडीमा विभिन्न घरायसी र मेसिनरी सामानहरु बरामद भएका छन् । गाडी र बरामद सामान गरी १० लाख ६८ हजार रुपैयाँको मूल्यांकन गरिएको छ ।
गाडी र सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज बिहान ८ बजे बिर्तामोड-८ गरामनीस्थित भद्रपुर–बिर्तामोड सडकखण्डमा भद्रपुरबाट बिर्तामोडतर्फ आउँदै गरेको डब्ल्युबी ७४ डब्ल्यु १२९६ नम्बरको भ्यान नियन्त्रणमा लिइएको हो ।


