बिर्तामोड, फागुन १५ । नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ । केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१) को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो ।

नयाँ व्यवस्था बमोजिम अब सरकारी खाताहरुबाट रकम भुक्तानी गर्दा वित्तीय भुक्तानी प्रणाली वा अकाउन्ट पेय चेकमार्फत गर्नुपर्नेछ। यो व्यवस्था लागु गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले समय–समयमा जारी गर्ने निर्देशनबमोजिम ती व्यवस्थाहरु परिवर्तन हुन सक्नेछन् ।
के छ नयाँ प्रावधान ?
नेपाल राष्ट्र बैंक वा वाणिज्य बैंकहरुले खिच्ने चेकको अग्रभागको माथिपट्टिको खाली स्थानमा अनिवार्य रुपमा चेक राइटर, चेक जाँच, चेक प्रोटेक्टर वा रिबन राइटर लगाउनुपर्नेछ ।
कार्यालयको नाममा खिचिएको चेक सम्बन्धित कार्यालय आफैँले खातामा जम्मा गर्न पठाउँदा सम्बन्धित कार्यालयको प्रस्ट बुझिने छाप बैंकको पछाडि अनिवार्य रुपमा लगाएको हुनुपर्नेछ ।
तर, सम्बन्धित कार्यालयका लागि अन्य व्यक्ति, फर्म, कम्पनी वा संस्थाले त्यस्तो चेक खातामा जम्मा गरिदिँदा भने छाप लगाउन अनिवार्य हुने छैन । क्लियरिङमार्फत प्राप्त चेकको रकम जसको नाममा चेक खिचिएको हो, उसैको नामको खातामा जम्मा गर्नुपर्नेछ ।


