
बिर्तामोड, फागुन १६ । जिल्ला प्रशासन कार्यालय झापाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन दिन अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने जनाएको छ ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले निकालेको सूचनाअनुसार फागुन १८ गते राति १२ः०० बजेदेखि २१ गते राति १२ः०० बजेसम्म झापासँग जोडिएको अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुनेछ ।
झापासँग भारतका दुई राज्यको अन्तर्राष्ट्रिय सिमाना रहेको छ । पश्चिम बंगालको दार्जिलिङ जिल्ला र बिहारको किसनगञ्ज जिल्लाको झापासँग सिमाना रहेको छ ।
निर्वाचन आयोगले पनि ‘निर्वाचन सुरक्षा–व्यवस्थापन निर्देशिका, २०८२ को दफा ६ मा उल्लेख भएबमोजिम निर्वाचनमा शान्ति सुरक्षा कामय गर्ने सम्बन्धमा तोकिएका सबै कार्यहरुसहित सोही दफाको खण्ड (झ) मा उल्लेख भएको निर्वाचत मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउने’, विज्ञप्तिमा उल्लेख गरेको छ ।


