२०८२ फागुन १६ शनिबार
Jhapa Today
Adv top

निर्वाचन अवधिको मौसमः धेरै ठाउँमा सामान्य, कहीँ आंशिक वर्षा


बिर्तामोड, फागुन १६ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा मौसम सामान्य नै रहने पूर्वानुमान गरेको छ । फागुन २० देखि २२ गतेसम्म मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहने देखिएको विभागले जनाएको छ ।

शुक्रबार साँझ निर्वाचन विशेष मौसम बुलेटिन जारी गर्दै विभागको मौसम पूर्वानुमान महाशाखाले हालसम्मको मौसम ढाँचाबाट प्राप्त मौसमी तथ्याङ्कको विश्लेषण गरेको जनाएको छ ।

सोही विश्लेषणका आधारमा निर्वाचनको समयमा खास उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिने स्पष्ट पारेको हो । यद्यपि हिमाली र पहाडी क्षेत्रमा भने आंशिक बदली रहने तथा एकदुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात हुने अनुमान विभागको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली भई हिमाली क्षेत्रमा एकदुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात हुने तथा मधेस प्रदेशमा मुख्यतया सफा रहने जनाइएको छ ।

त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली भएर बादल लागे पनि वर्षा र हिमपात हुने सम्भावना नदेखिएको विशेष मौसम बुलेटिनमा उल्लेख छ ।

सबै प्रदेशका तराई क्षेत्रमा भने मौसम सफा रहने जनाइएको छ । तर, पनि नियमित अनुगमन र अद्यावधिक गर्दै जाने भएकाले दैनिक अद्यावधिक सूचनाबारे जानकारी लिन विभागले सबैमा अनुरोध गरेको छ । –रासस

Adv footer