२०८२ फागुन १७ आइतबार
Jhapa Today
Adv top

कनकाईको सरस्वती माविमा ओलीद्वारा एसइइ विद्यार्थीलाई निःशुल्क खाना


बिर्तामोड, फागुन १७ । झापाको कनकाई-२ जामुनबारीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीलाई निःशुल्क खाना तथा खाजा खुवाउने कार्य एक साता पुगेको छ ।

स्थानीय समाजसेवी दिपक ओलीले आफ्नो सेवामुलक कार्यलाई निरन्तरता दिँदै सो सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क खानाको व्यवस्था गरिदिएका हुन् ।

विद्यालयका माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारीमा रहेका २२ जना विद्यार्थीलाई ओलीले निःशुल्क खाना र खाजा को व्यवस्था गरिदिएका हुन् ।

विद्यालयको एक कोठामा विद्यार्थीलाई खाना खुवाउने कामको सुरुवात गरिएको ओलीले जानकारी दिए । २२ जना विद्यार्थी र केही शिक्षकलाई एसइइ परीक्षासम्म खानाको व्यवस्थापन गरिएको उनले बताए ।

एसइइको तयारीमा रहेका विद्यार्थीहरु बिहान ६ बजे नै विद्यालय आउने र घर पुगेर आउँदा पढाइमा असर पर्ने देखेर ओलीले विद्यालयमै आफ्नो एकल खर्चमा बिहानको खानाको व्यवस्था गरेका हुन् । ओलीले आफूले सुरुवात गरेको अभियानमा सहयोगी दाताहरुलाई जोडिन पनि आग्रह गरेका छन् ।

केही विद्यार्थीका अभिभावक दैनिक ज्याला मजदुरीमा जाने भएकाले पनि ओलीले विद्यार्थीको सहजताका लागि एक छाक खानाको सुरुवात गरेको जानकारी दिए । विद्यार्थीहरुलाई झन्डै डेढ महिना विद्यालय लागेको दिन खाना खुवाइनेछ ।

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका सचिव रहेका ओली लायन्स क्लब अफ कनकाई दुर्गापुरका सचिव र पर्यटन मञ्च झापाका कार्यसमिति सदस्य हुन् । उनले अघि पनि सो विद्यालयका विद्यार्थीलाई ब्याग तथा न्यानो कपडा प्रदान गरिसकेका छन् ।

Adv footer