
बिर्तामोड, फागुन २५ । झापाको गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीमाथि हातपात गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौला रहेका छन् । सुवेदीमाथि उनकै निवासमा पुगेर हातपात र गालीगलौज गर्ने सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सिटौलाले हिजो आइतबार साँझ ७ः३० बजे मादक पदार्थ सेवन गरी नगरप्रमुख सुवेदीको घरमा पुगेर अभद्र व्यवहार गरेका थिए । पीडित नगरप्रमुख सुवेदीका अनुसार सिटौलाले उनको घरमा आएर ‘बाहिर निस्की’ भन्दै गालीगलौज गर्नुका साथै आफूमाथि हातपात समेत गरेका थिए ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको थियो ।
नगरप्रमुख सुवेदीमाथि हातपात र गालीगलौज गर्नुको वास्तविक कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।


