
बिर्तामोड, फागुन २५ । प्रतिनिधि सभा निर्वाचनपछिको नेपाली शेयर बजारमा हरियाली छाएको छ । चुनावपछि स्थायी सरकार बन्ने लगानी कर्तामा उच्च मनोवल बढेपछि सोमबार नेप्समो तीन पटक सर्किट ब्रेक लाग्यो र आजको लागि शेयर कारोबार बन्द भएको छ ।
शेयर बजार खुलेको एक मिनेटमै पोजिटिभ सर्किट लाग्यो । सो समय २२६ कम्पनीको शेयर खरिदबिक्री भएको छ । कारोबारमा आएका कम्पनीमध्ये २२५ को सेयरमूल्य बढेको छ भने रिलायन्स स्पिनिंग मिल्स मात्र घटेको छ । रिलायन्सको मूल्य १.४९ प्रतिशतले घटी ६७५ रुपैयाँमा सीमित बन्न पुगेको हो । एकमिनेटमै बजारमा १९ करोड हाराहारीको सेयर किनबेच भएको देखिएको छ ।
दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटको लागि कारोबार स्थगित भइ १२ बजेर १ मिनेटमा खुलेको बजार, तिव्र गतिमा बढ्ने क्रमलाई निरन्तरता दिँदै १२ बजेर १ मिनेट ३८ सेकेन्डमा नै ६ प्रतिशत बढेर तेस्रो सर्किट लागेको हो। तेस्रो सर्किट लागेसँगै यस दिनका लागि शेयर कारोबार बन्द भएको छ ।
रास्वपाले पछिल्लो मत परिणामअनुसार १२४ प्रत्यक्ष सिटसहित ४६ प्रतिशत बढी समानुपातिक मत प्राप्त गरेसँगै स्थिर सरकारका लागि लगानीकर्ता ढुक्क हुने स्थिति देखिएकाले सेयर बजार उकालो लागेको हो ।
निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत हासिल गरेसँगै मुलुकमा राजनीतिक स्थिरता कायम हुने र त्यसले नीतिगत निरन्तरता सुनिश्चित गर्दै अर्थतन्त्र सुधारतर्फ अघि बढ्ने अपेक्षाले लगानीकर्तामा उत्साह बढेको छ ।


