२०८२ फागुन २७ बुधबार
Jhapa Today
Adv top

मानव बेचबिखनको आरोपमा काँकरभिट्टाबाट एक महिला पक्राउ


बिर्तामोड, फागुन २७ । प्रहरीले झापाको मेचीनगरस्थित नेपाल भारत सीमाबाट एकजनालाई मानव बेचबिखनको आरोपमा पक्राउ गरेको छ । पूर्वी काँकरभिट्टा नाका हुँदै चारजना महिलालाई भारत लैजान खोज्ने पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गुल्मीको साविकको अर्खले गाविस घर भई हाल भारत आसामको गुहावटीमा बस्दै आएकी ५९ वर्षीया लीलादेवी भन्ने रामपियारी पन्थी छन् ।

उनले हङकङ लैजान भारतीय कागजातहरु बनाइदिने भनी नगदसमेत लिई ती महिलाहरुलाई भारततर्फ लैजाँदै गरेको सीमा खटिएको प्रहरीले जनाएको छ ।

हिजो साँझ ५ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोली र आफन्त नेपाल संस्थाबाट खटिएका कर्मचारीले भारततर्फ चारजना महिलासहित जाँदै गरेको अवस्थामा पन्थीलाई नियन्त्रणमा लिएको हो ।

उद्धार गरिएका महिलाहरुमा खोटाङको साविक सुङ्देल-४ जन्म भई हाल सुनसरी बराहक्षेत्र-३ नडाह बस्ने ३० वर्षीया मेनुका राई, सोही ठाउँ बस्ने २८ वर्षीया प्रमिला राई, २१ वर्षीया मनिषा माझी र सिन्धुपाल्चोक बलेफी-६ बस्ने २५ वर्षीया सरिता तामाङ रहेका छन् ।

पक्राउ परेकी पन्थीको साथबाट ५ लाख ९९ हजार ५४० भारतीय रुपैयाँ र १७ हजार ८१५ नेपाली रुपैयाँ बरामद भएको छ ।

पन्थीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ भने बाँकी महिलाहरुलाई आफन्त नेपाल संस्थामा राखिएको प्रहरीले जनाएको छ ।

Adv footer