बिर्तामोड, फागुन २८ । तराई मधेस क्षेत्रमा यस वर्ष आँप उत्पादन बढ्ने सम्भावना देखिएको छ । फागुन महिना सुरु भएसँगै आँपका रूखमा ढकमक्क फूल लागेका कारण उत्पादन बढ्ने अनुमान गरिएको हो ।

धान उत्पादनमा केही कमी आए पनि यसपालि आँप खेतीले किसानलाई राम्रो आम्दानी दिलाउने अपेक्षा गरिएको छ । विशेषगरी धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापालगायतका जिल्ला आँप खेतीका गरिन्छ ।
पूर्व–पश्चिम राजमार्ग आसपासका उत्तरी क्षेत्रका हजारौँ किसानले व्यावसायिक रूपमा आँप खेती गर्दै आएका छन् भने मधेसको दक्षिणी भेगमा अझै पनि परम्परागत रूपमा आँप उत्पादन हुँदै आएको छ ।
मधेस प्रदेशमा उत्पादन हुने आँपको माग देशका प्रमुख सहरहरू काठमाडौँ, पोखरा लगायतका बजारमा अत्यधिक छ । यही कारणले फूल लाग्नेबित्तिकै व्यापारीहरूले बगैँचा नै ठेक्कामा लिने गरेको स्थानीय किसान बताउँछन् ।
कृषि सम्बन्धी एक तथ्याङ्क अनुसार देशभर करिब ४२ हजार ७ सय ७३ हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको छ, जसमध्ये मधेस प्रदेशमा मात्र करिब २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँप खेती गरिन्छ ।
कृषि ज्ञान केन्द्रका अनुसार सबैभन्दा बढी सिराहा जिल्लामा १ लाख ४ हजार ६७६ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ भने सबैभन्दा कम पर्सामा ४ हजार ७३१ मेट्रिक टन उत्पादन हुने गरेको छ । कुल उत्पादनको करिब ७७.१ प्रतिशत आँप मधेस प्रदेशमै फल्ने गरेको तथ्याङ्कले देखाउँछ ।
आँपमा लाग्ने रोग तथा किराको जोखिम भने कायम छ । आँपको फूल झर्ने समस्या मधुवा लगायतका किराका कारण बढी देखिन्छ । त्यसैले, फूल लाग्नुभन्दा अघि र साना दाना देखिन थालेपछि उचित समयमा औषधि प्रयोग गर्न आवश्यक विज्ञहरुले बताएका छन् ।
कृषि विज्ञहरूका अनुसार समयमै रोग नियन्त्रण, उचित स्याहार र अनुकूल मौसम भए यस वर्ष मधेस प्रदेशमा आँप उत्पादन उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ ।


